शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ३० लाख धरौटीमा छाड्न आदेश

शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ३० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटार्नी शरणार्थी प्रकरणमा पूर्वसांसद एवं कांग्रेस नेता आङटावा शेर्पालाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले शेर्पालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको आदेश बदर गरेको हो ।

यस्तै उच्चले थुनामा पठाएका गोबिन्दकुमार चौधरीलाई पनि सर्वोच्चले धरौटीमा छाड्न आदेश दिएको छ । तत्कालिन हज समितिका अध्यक्ष शमशेर मियालाई पनि सर्वोच्चले साधारण तारेखमा छाड्न आदेश दिएको छ । उनलाई उच्च अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

तर पीडितहरुले उनलाई रकम दिएको भनेर नाम उल्लेख नगरेको, इन्कारी बयान दिएको र कसैले उनको नामसमेत नपोलेकाले १० लाख धरौटी लिने आदेश बदर भएको छ । उनलाई साधारण तारेखमै छाड्न आदेश दिएको छ ।

अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ ।