विवेकशील साझा पार्टीसहित २१ दललाई निर्वाचन आयोगले दियो यस्तो निर्देशन

विवेकशील साझा पार्टीसहित २१ दललाई निर्वाचन आयोगले दियो यस्तो निर्देशन

काठमाडौं । निर्वाचन आयोगले विवेकशील साझा पार्टीसहित २१ राजनीतिक दललाई एक साताभित्र लेखापरीक्षण प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । आयोगको आइतबार बसेको बैठकले निर्वाचन लेखापरीक्षण सम्बन्धी विषयमा राजनीतिक दललाई निर्देशन दिने र स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो ।

आयोगका अनुसार आयोगमा दर्ता कायम रहेका राजनीतिक दलमध्ये आर्थिक वर्ष २०७९–८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयवाधि भित्र पेश गर्ने ८२ राजनीतिक दलमध्ये लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने २०, तोकिएको समयपछि लेखापरिक्षण प्रतिवेदन पेश गर्ने १३ राजनीतिक दलमध्ये लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने एउटा दल गरेर २१ वटा रहेका छन् ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (५) बमोजिम आयोगमा पेश भएको लेखापरीक्षण प्रतिवेदन सम्बन्धित दलको कार्यालय वा वेवसाइट, आमसञ्चार माध्यम, सामाजिक सञ्जालका माध्यमबाट एक साता भित्र सार्वजनिक गरी सार्वजनिक गरेको जानकारी विवरण आयोगमा पेश गर्न निर्देशन दिएको हो ।

आयोगका अनुसार आर्थिक वर्ष २०७९–०८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयाबधि भित्र बुझाउने तर लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने राजनीतिक दलमा मधेश तराई फोरम, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, राष्ट्रिय समता पार्टी, त्रिमूल नेपाल, प्रजातान्त्रिक पार्टी, बहुजन समाज पार्टी, संघीय विकासवादी पार्टी, अखण्ड सुदूरपश्चिम पार्टी मुस्कान सेना नेपाल पार्टी, बहुजन एकता पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान, नेपाल समाजवादी काँग्रेस, जनताको जनवादी पार्टी, मितेरी पार्टी नेपाल, विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), नेपाल लोकतान्त्रिक पार्टी रहेका छन् ।

यस्तै आर्थिक वर्ष २०७९–०८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधि व्यतीत भएपछि पेश गर्ने तर लेखापरिक्षण प्रतिवेदन सार्वजनिक नगर्ने राजनीतिक दलमा नेपाली कांग्रेस वीपी रहेको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा एक बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले आथिक बर्ष समाप्त भएको ६ महिनाभित्र कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखापरीक्षण गराई एक महिना भित्र लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गरिसक्नुपर्छ ।