रुसी सेनाबाट भागेकाहरु भन्छन् – पाँच सयभन्दा बढी नेपालीको मृत्यु भइसकेको छ

रुसी सेनाबाट भागेकाहरु भन्छन् – पाँच सयभन्दा बढी नेपालीको मृत्यु भइसकेको छ

काठमाडौं । रुसी सेनामा भर्ती भएकाका आफन्तहरूले नेपालीहरूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले रुसी सेनामा भर्ती भएका नेपालीलाई अहिले धेरै नै कठिन अवस्थामा रहेकाले उनीहरूलाई स्वदेश फिर्तीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका हुन् । 

सरकारले के गर्दा उनीहरूलाई नेपाल फर्काउन सकिन्छ उक्त  व्यवस्था चाँडो गर्न आग्रह गरेका छन् । रुसी सेनाबाट भागेर नेपाल फर्किएका खोटाङका सुमन राईले नेपालीलाई सेनामा भर्ती भइसकेपछि सिधै फिल्डमा लगेर युद्ध गर्न लगाएको बताए । 

उनले सेनामा भर्ती भइसकेपछि युद्धमा लैजाने र नेपाली बाँच्ने अवसर शून्य प्रायः हुने बताए । उनले रुसी सेनाले नेपालीलाई सबैभन्दा अगाडि लगाएर युद्ध गराउने गरेको बताए । 

युक्रेनीहरू क्याम्पमा रुसी सैनिकमाथि आक्रमण गर्न नियालिरहेको हुने तर रुसबाट भने खुला ठाउँमा लगेर भिडाउने गरेको भन्दै उनले रुसी भाषा नबुझ्ने समस्याका कारण पनि धेरै नेपालीको मृत्यु भएको बताए । 

उनले अहिलेसम्म सार्वजनिक नभए पनि पाँच सयभन्दा बढी नेपालीले ज्यान गुमाइसकेका बताए । रुसी सेनामा भर्ती भएका नेपालीका परिवार र आफन्तहरूले छिटोभन्दा छिटो उनीहरूलाई सरकारको तर्फबाट स्वदेश फिर्ता ल्याउने पहल गरिदिन आग्रह गरे ।