विद्या भण्डारीले गरिन् केपी ओलीको प्रशंसा

विद्या भण्डारीले गरिन् केपी ओलीको प्रशंसा

काठमाडौँ ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सर्वाधिक प्रतिभाशाली नेताका रूपमा चित्रण गरेकी छन् । मंगलबार काठमाडौंमा ‘संसद्‌मा केपी शर्मा ओली’ नामक पुस्तक विमोचन गर्दै उनले ओली सबैका निम्ति प्रेरणा र ज्ञानको स्रोत भएको बताइन् ।

सो पुस्तकले नेपाली संसद्को इतिहास, तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका विषयमा एमालेले खेलेको भूमिका उजागर गरेको भण्डारीको भनाइ छ । 
शहीद दिवसका दिन पारेर उक्त पुस्तक सार्वजनिक गरिएको हो । 

पुस्तकमा २०४८ देखि २०७४ सालसम्म ओलीले सम्बोधन गरेका विषयलाई समावेश गरिएको लेखक सानीमैँया खड्काले जानकारी दिइन् । २०४८ सालदेखि २०७४ सालसम्म ओलीले संसदको २३ वटा अधिवेशनमा भाग लिएको पनि पुस्तकमा उल्लेख गरिएको छ ।

सभ्यता अन्वेषण केन्द्रले तयार पारेको उक्त पुस्तकमा ओलीले सदनमा गरेका भाषणहरू संग्रहित गरिएको छ । लोकार्पण कार्यक्रममा दलका नेता(कार्यकर्ता, विभिन्न क्षेत्रका र प्राज्ञिकहरुको उपस्थिति थियो ।