३३ वर्षअघि १० हजारमा बेचे युवती, अहिले परे प्रहरीको फन्दामा

३३ वर्षअघि १० हजारमा बेचे युवती, अहिले परे प्रहरीको फन्दामा

काठमाडौँ । ब्रुनाई पठाइदिने भन्दै पश्चिम बंगालको बागडोग्रा पुर्याएर भारतीय महिलालाई बेचबिखन गरेको आरोपमा फरार भएका व्यक्ति पक्राउ परेका छन् ।धादिङ साबिक सेमजोङ गाविसका-८ हाल मेत्रावती गाउँपालिका-२ का ५७ वर्षीय वीरबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

३३ वर्षदेखि फरार रहेका उनलाई बुधबार ललितपुरबाट पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताए ।

ती महिलालाई तामाङले २०४७ साल चैत ३ गते काठमाडौँबाट काँकडभिट्टा हुँदै पश्चिम बंगालको बागडोग्रा पुर्‍याएर बेचबिखन गरेको आरोप थियो । त्यसयता तामाङ फरार भएका थिए ।

पंगेनीका अनुसार ती महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि ब्रुनाइमा थिए । तामाङले ‘तिम्रो श्रीमानले ब्रुनाई ल्याइदिनू भनी मलाई चिठी लेखेका छन्’ भन्दै झुक्याएर काठमाडौँबाट बागडोग्रा पुर्‍याएका थिए ।

तामाङले त्यहीको एक घरमा पुर्‍याएर दुई जनाको जिम्मामा छोड्दै आफू भोलि आउने भन्दै फर्किएका थिए । तर, उनी आएनन् ।

तामाङले ती दुई जना भारतीयबाट १० हजार भारु लिएर महिलालाई बेचेको खुलेको छ ।

ती भारतीयले महिलालाई रिक्सामा राखेर लैजाने क्रममा हाम्फालेर नजिकको प्रहरी सम्पर्कमा पुगेकी थिइन् । भारतीय प्रहरीले काँकडभिट्टामा ल्याएर छोडिदिएको थियो ।

उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी र अनुसन्धान भइरहेको छ । तामाङलाई अदालतबाट मानव बेचबिखन मुद्दामा थुनामा राख्न अनुमति लिइएको छ ।