फोहरमा भेटियो नवजात शिशुको शव

फोहरमा भेटियो नवजात शिशुको शव

कटारी । उदयपुरको कटारी नगरपालिका–३ राजावासमा रहेको फोहर विसर्जनस्थल (डम्पिङसाइट)मा फालिएको फोहरमा नवजात शिशुको शव फेला परेको छ । 

फोहर संकलन गरी फोहर छुट्याउने क्रममा कामदारले फोहरसँगै फालिएको फोहर कपडाभित्र शिशुको शव देखेको वडासदस्य पष्पु खाँले बताए । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको स्थानीय देव ढुङ्गेलले बताए ।

 वडासदस्य खाँका अनुसार आजै बिहान कटारी बजार क्षेत्रबाट नगरपालिकाको ट्रयाक्टरले संकलन गरी लगेर फालेको फोहरमा शव भेटिएको हो ।

शवलाई प्रहरीले कटारी अस्पतालमा लगेर राखेको छ । ‘आजै उठाइएको फोहरमा शव रहेछ’, वडासदस्य खाँले भने, ‘नगरपालिकाको ट्रयाक्टरमा शवलाई अस्पताल ल्याइएको छ ।’ इलाका प्रहरी कार्यालय कटारीले शव भेटिएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जनाएको छ । महिना पुगिसकेको जस्तो देखिने कपाललगायतका अङ्ग बनिसकेको मृत नवजात शिशुको शव भेटिएको प्रहरीले जनाएको छ ।