काभ्रेमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ

काभ्रेमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ

धुलिखेल । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ७ शिखरपुरको झाडीमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । भाडामा बस्दै आएकी १९ वर्षीया युवतीलाई सोही स्थानमा डेरा गरी बस्ने युवाहरुले गत पुस २७ गते साँझको समयमा बलात्कार गरेको प्रहरीको दाबी छ ।

युवतीलाई बलात्कार गरेको अभियोगमा चार युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ पर्नेहरुमा उदयपुर ताप्ली गाउँपालिका वडा नम्बर ८ घर भई पाँचखाल वडा नम्बर ७ भाडामा बस्दै आएका २८ वर्षीय धिरज हमाल, भोजपुर षडानन्द गाउँपालिका वडा नम्बर ८ घर भई सोही स्थानमा बस्दै आएका घनश्याम श्रेष्ठ, धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ४ घर भई पाँचखाल ७ बस्ने १९ वर्षका अमर विक र सोही स्थानमा काम गरी बस्ने १७ वर्षीय बालक छन् ।

चार जनाले जंगलमा लगेर मुख थुनेर संयुक्त रुपमा जबर्जस्ती करणी गरेको पीडितले बताएकी छिन् । बलात्कार पछि आत्महत्याको प्रयास गरेकी युवतीलाई स्थानीयको सहयोगमा पाँचखाल प्रहरी चौकीले  उद्धार गरेको थियो ।

प्रहरीले उद्धार गरेपछि उनले आफू बलात्कारमा परेको र पीडा सहन नसकेर आत्महत्याको प्रयास गरेको बताएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भाग्यन्द्र पुरुष ढकालले जानकारी दिए । पक्राउ परेकाहरुलाई ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको पनि उनले बताए ।