सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनका राष्ट्रियसभा उम्मेदवारहरूलाई जिताउन गठबन्धनका शीर्ष नेताहरुले अपील गरेका छन् ।आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभामा गठबन्धनको तर्फबाट उठाइएका उम्मेदवारहरूलाई जिताउन संयुक्त आह्वान गरेका हुन् । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका उम्मेदवार सबैका साझा उम्मेदवार भएकाले सबैले मतदान गरेर जिताउनका लागि शीर्ष नेताहरूले आह्वान गरेको बताए । उनका अनुसार प्रदेशहरूमा र जिल्लाहरूमा समन्वय समितिहरु गठन भएको बारेमा नेताहरूलाई ब्रिफिङ गरिएको छ ।

लेखकले भने, ‘गठबन्धनका साझा उम्मेदवारहरूलाई कसरी जिताउने भन्ने छलफल भयो । संयुक्त अपिल जारी गर्ने काम भएको छ । सबै सात दलका नेताहरूले संयुक्त रूपमा हस्ताक्षर गरेर १९ जना उम्मेदवार नै हामी सबैका साझा उम्मेदवार हुन् र सबैले मतदान गरेर जिताउनका लागि भनेर आह्वान गर्ने काम भएको छ । प्रदेशहरूमा समन्वय समिति गठन भएका छन् । जिल्लामा समन्वय समितिहरु गठन भएका छन् । त्यसका बारेमा पनि नेताहरुलाई ब्रिफिङ गर्ने काम भएको छ ।’

आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । निर्वाचनबाट गठबन्धनलाई अझ संगठित र बलियो बनाउन आवश्यक रहेको गठबन्धनको निष्कर्ष छ । गठबन्धन देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर भएको भन्दै नेताहरूले गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेको बताएका छन् ।