‘तपस्वी रामबहादुर बम्जन बूढानीलकण्ठबाट पक्राउ

‘तपस्वी रामबहादुर बम्जन बूढानीलकण्ठबाट पक्राउ

काठमाडौं । ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बूढानीलकण्ठबाट पक्राउ गरेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

तपस्वीको भेषमा विभिन्न ठाउँमा आश्रम खोल्दै आएका रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरीको टोली पुग्दा उनी भाग्न खोजेको खुलेको छ। बमजन घरको दोस्रो तलामाथि बसिरहेका थिए। प्रहरी आएको थाहा पाएपछि बमजनले बरण्डाबाट हामफालेको सिआइबी स्रोतले जानकारी दियो। 
कुनै बेला ‘लिटिल बुद्ध’ भनी प्रचारित बम्जन पाँच वर्षदेखि गुमनाम थिए । उनी सम्पर्कविहीन भएपछि उनको खोजीमा सीआईबीको टोली ४ असार २०७७ मा तालिम प्राप्त कुकुरसहित सिन्धुलीको आश्रम पुगेको थियो । तर, त्यो बेलासमेत प्रहरी रित्तो हात फर्किन बाध्य भयो ।

बम्जनले सिन्धुलीको कमलामाई नगरपालिका– ८, पैरेनीस्थित २० रोपनीभन्दा बढी क्षेत्रफलभित्र सुविधासम्पन्न आश्रम बनाएका थिए । आश्रमभित्र आफ्ना लागि छुट्टै दरबार समेत निर्माण गरेका थिए ।

बम्जनको आश्रममा छिरेका प्रहरी अधिकारीका अनुसार, उनले आफ्ना लागि आश्रमभित्र स्वीमिङ पूल, जिमखानादेखि अन्य धेरै निजी सुविधा सम्पन्न हल निर्माण गरेका थिए । आश्रमका चारै नाकामा उनले निजी सुरक्षा चेक पोस्टसमेत राखेका थिए । 

बम्जनमाथि २० साउन २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ । त्यही आरोपको तीन वर्षपछि सर्लाही प्रहरीमा पीडितका परिवारले किटानी जाहेरी दिएका थिए । 

जाहेरीपछि पनि पक्राउ नपरेका बम्जनलाई जिल्ला अदालत सर्लाहीले हाजिर हुन भन्दै त्यहीबेला ३५ दिने म्यादसमेत दिएको थियो । तर, म्याद नाघ्दा पनि बम्जन अदालतमा हाजिर भएनन् । 

सर्लाही अदालतले २०७६ माघमा पहिलो पटक उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले २१ असार २०७७ मा उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सर्लाही जिल्ला वकिल कार्यालय हुँदै जिल्ला अदालत टेकाइसकेको छ ।

प्रहरीले बम्जनका आश्रमहरूबाट यसअघि शब गलाउन प्रयोग गरिएका नुनका ढिकाहरू बरामद गरेको थियो ।  बम्जनमाथि सर्लाही, नुवाकोट र मकवानपुरबाट आश्रम आएका तीन युवतीलाई बलात्कार गरेको आरोप लागेको छ ।