विवाहेत्तर सम्बन्धको आरोपमा ब्वाइफ्रेण्ड र पत्नीको हत्या

विवाहेत्तर सम्बन्धको आरोपमा ब्वाइफ्रेण्ड र पत्नीको हत्या

चितवन । भरतपुर महानगरपालिका १२ स्थित मिलनचोकमा मंसिर पहिलो साता बोराभित्र फ्याँकिएको दुई वटा शवको पहिचान खुलेको छ । प्रहरी स्रोतका अनुसार मंसिर ६ गते मारेर फ्याँकिएका दुवैजना भारत विहारका हुन् ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार विवाहेत्तर सम्बन्धका कारण उक्त घटना भएको पाइएको छ । पत्नीको अर्कैसँग सम्बन्ध रहेको थाहा पाएपछि पतिले ब्वाईफ्रेण्डसहित दुवैजनाको हत्या गरेको ती प्रहरी अधिकारीले बताए । पति भने भारतमा अर्को हत्यामा पनि संलग्न पाइएको बताइएको छ ।

मङ्सिर २ गते भगतले दुई जनालाई उनीहरूकै कोठामा हत्या गरेका थिए । त्यसपछि दुईवटा शवलाई जुटको बोरामा बन्द गरी ३ गते राति साइकलमा राखेर कल्भर्टमा फालेका थिए । यो कुरा सीसीटिभी फुटेजमा पनि कैद भएको प्रहरीको भनाई छ ।

घटनापछि भगत सुटुक्क भारत फर्किएका थिए । प्रहरीले उनको खोजी गर्न भारतीय प्रहरीसँग समन्वय गर्दा उनीमाथि अपहरण र व्यक्ति बेपत्ता सम्बन्धी एफआईआर दर्ता भई पुस १६ गते पक्राउ परेको पत्ता लागेको थियो । 

भगत हाल भारतको केन्द्रीय कारागार मोतिहारीमा रहेको र भारतीय प्रहरीले समन्वयमा उनीसँग सोधपुछ गर्दा उनले नेपाल आएर भतिज नाता पर्ने कुशवाह र पत्नी अस्मिताको हत्या गरेको स्वीकार गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।