राष्ट्रिय सभा निर्वाचन : यी हुन् सुदूरपश्चिममा माओवादीबाट सिफारिस हुने नेता (सूचीसहित)

राष्ट्रिय सभा निर्वाचन : यी हुन् सुदूरपश्चिममा माओवादीबाट सिफारिस हुने नेता (सूचीसहित)

काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि फागुनमा सकिँदैछ । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हरिराम चौधरी उत्सव (कैलाली), महेश महरा (डडेल्धुरा) र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी इन्दु कडरिया (कञ्चनपुर)को पदावधि सकिन लागेको हो ।

रिक्त हुने स्थानमा पदपूर्तिका लागि माघ ११ मा निर्वाचन हुँदैछ । निर्वाचनमा भाग लिनका लागि सत्तारुढ गठबन्धन तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र उम्मेदवार छनोटको गृह कार्य भइरहेको छ । सत्तारुढ दलबिच सिट संख्या बाँडफाँटबारे ठोस निर्णय भइनसकेकाले आ–आफ्नो दलबाट सम्भावित उम्मेदवार छनोट कार्य अगाडि बढाएका हुन् । सुदूरपश्चिममा खाली हुने ३ सिटका लागि सत्तारुढ गठबन्धनभित्र कुन दलले कति उम्मेदवार खडा गर्ने भन्ने टुङ्गो लाग्न बाँकी छ । नेकपा माओवादी केन्द्रभित्र उम्मेदवारको सिफारिस गर्न थालिएको छ । माओवादीभित्र ३० जना बढी आकांक्षी देखिएका छन् । सिफारिसमा पर्नेमा चुनाव हारेका तथा यसअघि सांसद भइसकेकाहरु पनि छन् ।

यो रिपोर्ट तयार पर्दासम्म चार जिल्लाबाट सिफारिस नामावली आएको माओवादी केन्द्रका प्रदेश समिति सचिव जनक बुढाले जानकारी दिए । माओवादी केन्द्रका कैलाली जिल्ला समन्वय समिति संयोजक लाजुराम चौधरीका अनुसार कैलाली जिल्लाबाट १२ जनाको नाम सिफारिस गरिएको छ । खुलातर्फ देवराज रेग्मी, दीपक साउद, टीकाराम जैशी, मीन बहादुर सुनार, देवीलाल चौधरीको नाम सिफारिस गरेको छ । महिलातर्फ रेणु चन्द, विमला सिंह, मोतीकला चलाउने, उर्मिला चौधरीको नाम सिफारिस गरिएको छ । त्यस्तै, घाइते आपाङ्गतर्फ प्रेम बायक, पतिराम चौधरी, बिर्खबहादुर महताराको नाम सिफारिस गरी प्रदेश कार्यालयमा पठाएको जिल्ला अध्यक्ष चौधरीले जानकारी दिए ।

त्यस्तै, बझाङ जिल्लाबाट चार जनाको नाम सिफारिस आएको माओवादी केन्द्रका प्रदेश सचिव जनक बुढाले जानकारी दिए । उनका अनुसार खुलातर्फ देवराज रेग्मी र लालबहादुर सोडारी, घाइते आपाङ्गतातर्फबाट गम्भीर थापा र महिलाबाट निशा ठगुन्ना परियारको नाम गरिएको छ । देवीराज रेग्मीको नाम कैलाली र बझाङ्ग गरी दुई जिल्लाबाट सिफारिस भएको छ । डोटी जिल्लाबाट लक्ष्मणदत्त जोशी, सिद्धराज भाट, महिलातर्फ अञ्जिता श्रेष्ठ, प्रेमाकुमारी ओली र घाइते आपाङ्गतातर्फ जंग बिक र मीन घर्तीको नाम सिफारिस भएको छ । बाजुराबाट सञ्जय कट्टेलको नाम सिफारिस भएको हो ।


त्यस्तै, कञ्चनपुरबाट खुलातर्फ गोविन्द तिमिल्सिना, महिलातर्फ सरु चौधरी, घाइते आपाङ्गतातर्फ जीत बहादुर करियाकंग्रहुवाको नाम आएको माओवादीका जिल्ला संयोजिक खेम पाण्डेले जानकारी दिए । अछाम जिल्लाबाट दिपक साउदको मात्रै नाम सर्वसम्मत सिफारिस गरिएको छ । कैलालीबाट पनि सिफारिस भएका साउदलाई अछामबाट पनि सिफारिस गरेको माओवादी अछामका संयोजक रवीन्द्र साउदले जानकारी दिए ।

त्यस्तै, डडेल्धुराबाट हालसम्म हरि ज्ञवालीको नाममात्रै आएको छ । माओवादी डडेल्धुरा संयोजक उमेश भटट्को अनुसार आकांक्षी धेरै भए पनि हालसम्म ज्ञवालीको नाम मात्रै जिल्ला आएको हो । बैतडीमा पनि आकांक्षीहरुका नाम सिफारिस गर्न बाँकी रहेको बताइएको छ । माओवादीका बैतडी संयोजक शंकर भण्डारीले गोपाल चन्दलगायत १२ जना आकांक्षी देखिएको बताए । दार्चुला जिल्लाबाट ३ जनाको नाम सिफारिस गरिएको छ । माओवादी दार्चुला जिल्ला संयोजक प्रेम पन्तका अनुसार लक्ष्मणदत्त जोशी, गीता ठगुन्ना, लिला कुँवरको नाम सिफारिस गरिएको हो । लक्ष्मणदत्त जोशीको नाम डोटीबाट पनि सिफारिस भएको हो ।

२०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथामा त्यतिबेला ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो । राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सरकारले माघ ११ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको छ ।

पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ ।