विरेन्द्रको परिवारमा जब गोली लागेको खबर पुग्यो...

विरेन्द्रको परिवारमा जब गोली लागेको खबर पुग्यो...

काठमाडौं । अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका २३ वर्षीय वीरेन्द्र शाहले केही वर्ष अघि नै कोरिया पुगेर घरको नाजुक अवस्थामा सुधार ल्याउने सोचेका थिए । तर, काठमाडौँ बसेर छोरालाई पठाउन सक्ने ल्याकत बुवा टेकबहादुर शाहमा थिएन । छोरोको सपना पुरा गर्न ५० वर्षको उमेरमा टेकबहादुर भारत परे । ‘पाएको काम गरेर करिब १० हजार भारु बचाउनु हुन्थ्यो त्यही पैसाले छोरालाई काठमाडौँ पढाइरहनु भएको थियो ’ स्थानीय गणेश शाहले भने ‘अहिले त्यो परिवारमा बज्रपात भएको छ ।’

ईपीएस कोटामार्फत कोरिया जाने सपना देखेर काठमाडौँ गएका वीरेन्द्रको शुक्रवार दिउँसो ललितपुरको बालकुमारीमा आन्दोलनका क्रममा मृत्यु भयो । छोराको भिजा लागेको समाचार सुन्न पर्खिएका परिवारमा छोरालाई गोली लागेको समाचार पुग्यो । अहिले यो परिवारमा सन्नाटा छाएको छ । भारतमा काम गर्दा गर्दै बिरामी भएर फर्किएका टेकबहादुर काठमाडौँ जाँदै छन् । आमा दुर्गा देवी विक्षिप्त छिन् । कति बेला बेहोस हुन्छिन् होस खुलेपछि फेरी रुन्छिन् र ढल्छिन् ।

वीरेन्द्रले सिउडी माविबाट २०७८ सालमा कक्षा १२ सम्मको अध्ययन सकेका थिए  । स्वदेशमै रोजगारी गरेर बुद्ध बुवा आमालाई स्याहार गर्ने वीरेन्द्रको रहर पनि पुरा हुन पाएन । दसैँमा घर आएका वीरेन्द्र तिहार सम्म बसेका थिए । उनले आफू चाँडै कोरिया जाने र घरको अवस्था सुधार हुने बताएका थिए । ‘दशैका आउँदा बाबु निकै खुसी थियो । अब कोरियाबाट पैसा पठाएर बुवाको उपचार गर्ने नयाँ घर बनाउने र सबै समस्या सकिन्छ भन्थ्यो वीरेन्द्रका हजुरबुवा पर्ने वडा सदस्य गणेश शाहले भने, ‘सबै सपना चकनाचुर भयो ।’

वीरेन्द्रका दाजु पनि रोजगारीका सिलसिलामा भारत छन् । घटना पनि उनी पनि फर्किँदै छन् ।