अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव

अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव

काठमाडौं । समाजवादी मोर्चाले सरकारले संघीयता विरोधी शक्तिहरुलाई निस्तेज पार्दै गएको ठहर गरेको छ । संघीयता कार्यान्वयनमा सरकार दृढतापूर्वक उभिनु पर्ने निष्कर्ष पनि बैठकले निकालेको छ । समाजवादी मोर्चाले संविधानमा भएका अनुसूचिहरुलाई व्यवस्थित गर्न र अध्यादेश नै ल्याएर भए पनि त्यसलाई कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । भ्रष्टाचारको विरोधमा अभियान चलाएर सरकारले इतिहासमै राम्रो काम गरेको ठहर बैठकले गरेको उनले बताए ।

२०८० असार ४ गते नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले समाजवादी मोर्चा गठन गरेका थिए । मोर्चा गठनको औचित्यबारे जानकारी दिने भन्दै सातै प्रदेशमा सभा गरे पनि त्यसयता भने  मोर्चा निष्कृयजस्तै छ । बैठकले सात प्रदेशमा भएका कार्यक्रम सफल भएको निष्कर्ष निकालेको उनले बताए । मोर्चाको जिल्ला समन्वय समिति गठन गर्ने र प्रमुख शहरहरुमा सन्देश सभाहरु आयोजना गर्ने निर्णय बैठकले गरेको नेता श्रेष्ठले बताए ।

बेलुका ६ बजे फेरि बैठक बस्ने
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ताका खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)का अनुसार बैठकमा चार वटा एजेण्डा प्रस्तुत भएका थिए । त्यसमा छलफल नसकिएकाले आजै बेलुका ६ बजे फेरि बैठक बस्ने नेता विश्वकर्माले जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा र सरकारविरुद्ध विभिन्न शक्ति केन्द्रहरुले षडयन्त्र गरिरहेको भन्दै त्यसलाई निस्तेज पार्नुपर्ने आवश्यकता रहेको बताएका थिए । मोर्चाको घोषणाले राजनीतिक वृत्तमा र जनतामा पनि सकारात्मक प्रभाव परेको निष्कर्ष सुनाउँदै उनले यसका गतिविधिलाई थप तीव्रता दिनुपर्ने बताएका थिए । बैठकमा नेकपाका महासचिव विप्लव र प्रवक्ता विश्वकर्माले सरकारका कामकारबाहीलाई अझै गुणात्मक रुपले अगाडि बढाउनुपर्ने भन्दै मोर्चाका आगामी कार्यक्रमलाई वस्तुसम्मत ढंगले विकास गर्नुपर्ने बताएका थिए ।

आफूहरुविरुद्ध जारी भएका पक्राउ पुर्जी नेपालको शान्ति प्रक्रिया तथा लोकतन्त्र र गणतन्त्रविरुद्धकै षडयन्त्र भएको भन्दै विश्वकर्माले टीआरसी विधेयकलाई छिटो टुंगोमा पुर्याउनुपर्ने बताएका थिए ।