आज दिउँसो जेलमुक्त हुन लागेका चण्डेश्वर बिहानै मृत्यु

आज दिउँसो जेलमुक्त हुन लागेका चण्डेश्वर बिहानै मृत्यु

काठमाडौँ । १० महिना २२ दिन लामो जेल सजाय काटेर आज कैदमुक्त हुन लागेका विराटनगर १० का चण्डेश्वर सहनीको बिबहानै मृत्यु भएको छ। 

सोमबार बिहान विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएपछि अन्य कैदीबन्दी र परिवारजनले मोरङ कारागार प्रशासनले लापरबाही गरेको भन्दै असन्तोष प्रकट गरेका छन्। 

बिहान पौने ७ मा उनको अस्पतालमा मृत्यु भएपछि परिवारजनले अस्पतालमा नाराबाजी गरेका थिए। परिवारजनले जेल प्रशासनले बिरामीबारे जानकारी नदिएको भन्दै आक्रोश पोखेका छन्। 

लेनदेन मुद्दामा दोषी ठहर भएपछि सहनी जेलमा थिए। मोरङ जिल्ला अदालतले उनलाई १० महिना २२ दिन थुनामा राख्न आदेश दिए बमोजिम थुनामा रहेका उनको कैद सजाय आजै सकिँदै थियो। 

जेलमा सबै प्रक्रिया पूरा गरेर दिउँसो सम्ममा उनी कैदमुक्त बन्दै थिए। तर, आजै उनको मृत्यु भएपछि परिवारजनले उनलाई जेल बाहिर स्वागत गर्न पाएन।

‘पेटको र श्वासप्रश्वासको समस्या देखिएपछि हामीले उनलाई पुस ७ गते बेलुका साढे सात बजे कोशी अस्पताल पुर्याएका थियौं,’ मोरङ कारागारका एक कर्मचारीले भने, ‘परिवारलाई जानकारी पनि गराएका हौं। तर, अहिले राम्रो अस्पताल लान्थ्यौं हामी, किन कोशीमा राखेको भनेर उहाँहरूले असन्तोष देखाइरहनु भएको छ। हामीले कुनै लापरबाही गरेका हैनौं।’

सहनी २०७९ माघ १७ गतेदेखि थुनामा थिए। मोरङ जिल्ला अदालतले २०७८ मंसिर २० गते १० महिना २२ दिन कैद सजाय सुनाएको थियो। अदालतले फैसला गरेपछि फरार उनलाई २०७९ माघ १७ गते प्रहरीले पक्राउ गरेको थियो। 

मोरङ कारागारका निमित्त प्रमुख कृष्णहरि न्यौपानेले उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको जानकारी दिए।मृतक सहनीका परिवारले भने उनीमाथी निर्घात कुटपिट भएको आरोप लगाएको छ।