काठमाडौँ । वैदेशिक रोजगारीमा कुवेतमा रहँदा काभ्रेका उमेश लामा र काठमाडौँमा बस्ने एक युवतीबिच सामाजिक सञ्जाल ‘टिकटक’ मार्फत कुरा भइरहन्थ्यो । कुवेतबाट नेपाल फर्केपछि उनीहरूले भौतिक रूपमा चिनजान र भेटघाट गरे । उनीहरू बिचको दोस्ती ‘प्रेम’मा बद्लियो ।
उनीहरूको बिचमा विवाह गर्ने सहमति भयो । भक्तपुरमा फरक–फरक ठाउँमा भेटिराख्ने उमेशले एक दिन युवतीलाई भने–‘हामी विवाह नै गर्ने त होनी... ।’ युवतीलाई विवाह गर्ने सर्तमा उमेशले बलात्कार गरे । उमेश काभ्रेपलान्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका–८ का स्थानीय हुन् । तर, सँगै घरजम गर्ने सर्तमा शरीर सुम्पेकी युवतीलाई थाहै नदिई उमेश फेरी कुवेत फर्किए । उनी सम्पर्कविहीन भएपछि युवतीले सम्पर्क गर्ने हर प्रयास गरिन् । परिवारसँग कुरा गर्दा परिवारका सदस्यहरूले गैह्र जिम्मेवार जवाफ दिए । त्यसपछि उनी प्रहरीकहाँ पुगिन् । युवतीको जाहेरीका आधारमा इन्टरपोलबाट उमेश विरुद्ध रेड नोटिस जारी गरिएको थियो । उमेशलाई पक्राउ गर्न नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।
इन्टरपोलको सहयोगमा उमेशलाई कुवेतबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाबारे प्रहरी वृत जगातिले अनुसन्धान गरिरहेको छ । पीडितले दिएको बलात्कारको जाहेरीका आधारमा अदालतबाट म्याद लिएर उनिबारे अनुसन्धान भइरहेको प्रहरी वृत जगातिकी डिएसपी दिप्ती कार्कीले रातोपाटीलाई बताइन् । उनले भने–‘सल्लाघारी र भक्तपुरको विभिन्न ठाउँमा बलात्कार भएको उजुरी दर्ता भएको थियो, हामि अनुसन्धान गर्दै छौं ।’
उमेश भक्तपुरका विभिन्न ठाउँमा भेटेर ‘विवाह गर्ने त होनी’ भनेर पटक–पटक बलात्कार गरेको पीडितको आरोप छ । पीडितले प्रलोभन देखाएर धोका दिएको आरोप लगाएकी छन् ।