चेम्बर अफ कमर्स र रुसका व्यापार आयुक्तबीच छलफल,  नेपालको व्यापार प्रवर्द्धनमा सहयोग गर्ने

चेम्बर अफ कमर्स र रुसका व्यापार आयुक्तबीच छलफल,  नेपालको व्यापार प्रवर्द्धनमा सहयोग गर्ने

काठमाडौं । नेपालको व्यापार प्रवर्द्धनका लागि गणराज्य रुसले सहयोग गर्ने भएको छ । नेपाल–रुस चेम्बर अफ कमर्स र रुसका व्यापार आयुक्तबीचको छलफलमा नेपालको व्यापार प्रवर्द्धनका लागि रुसले सहयोग गर्ने भएको हो ।

नेपाल–रुस चेम्बर अफ कमर्सका अध्यक्ष अशोक शेरचनसहितको टोलीले बिहीबार दिउँसो रुसका व्यापार आयुक्त एलेक्जेन्डर एल राइभससँग भेटघाट गरेको थियो । छलफलमा नेपालस्थित रुसी दूतावासका काउन्सिलर एन्ड्रेइ किसेलेन्नको र रुस निर्यात केन्द्रका प्रमुख टिमुर भेकिलोभ पनि उपस्थित थिए । छलफलमा द्विराष्ट्रिय चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसमेत उपस्थित थिए । छलफलमा अध्यक्ष शेरचनले नेपालमा पर्यटन, कृषि, ऊर्जा र व्यापारमा ठूलो सम्भावना रहेको भन्दै लगानीका लागि आग्रह गरे । उनले नेपालमा ऊर्जा, पर्यटन, व्यापार क्षेत्रमा लगानी अभिवृद्धि आवश्यक रहेको भन्दै यसबाट चाँडो प्रतिफल पनि आउने बताए ।

नेपाल र रुसबीच पुरानो सम्बन्ध छ । नेपालको प्रविधि क्षेत्रमा समेत लगानी गर्नुपर्ने भन्दै उनले व्यापार प्रवर्द्धनमा सहयोगका लागि आग्रह गरे । कार्यक्रममा नेपाल–रुस चेम्बर अफ कमर्सका महासचिव विष्णुहरि पाण्डेको पनि उपस्थिति रहेको थियो ।