नवराज विकसहित ६ युवाका आफन्तले आज काठमाडौंमा धन्यवाद र्‍याली गर्दै

नवराज विकसहित ६ युवाका आफन्तले आज काठमाडौंमा धन्यवाद र्‍याली गर्दै

काठमाडौं । रुकुमपश्चिमको सोती गाउँमा अन्तरजातीय प्रेम र विवाहको निहुँमा हत्या भएका जाजरकोटका नवराज विकसहित ६ जना युवाका आफन्त अदालतबाट न्याय पाएपछि धन्यवाद ज्ञापन गर्न काठमाडौं आइपुगेका छन् । साढे तीन वर्षअघि भएको हत्याकाण्डमा जिल्ला अदालत रुकुम पश्चिमको १९ मंसिरको फैसलाले न्याय पाएको भन्दै अदालतको गेटमा फुल चढाएर न्यायाधीशलाई सम्मान गरेका उनीहरूले काठमाडौंमा पनि धन्यवाद ¥याली निकाल्न लागेका हुन् । मुद्दामा न्याय दिने न्यायालय, न्यायाधीश, सरकार र घटनामा सद्भाव राख्ने सबैप्रति धन्यवाद ज्ञापन गर्न काठमाडौं आएको नवराजका बुवा मुनलाल नेपालीले बताए । उनका अनुसार शुक्रबार दिउँसो २ बजे भृकुटीमण्डपमा जम्मा हुने र त्यसपछि ¥याली लिएर शान्तिवाटिका पुगेपछि धन्यवाद सभा गर्ने कार्यक्रम रहेको छ ।

बिहीबार राष्ट्रिय दलित आयोग पुगेका उनीहरूलाई आयोगले दलित अधिकारकर्मीहरूसमेतको उपस्थितिमा स्वागत गरेको थियो । जातीय भेदभाव र छुवाछुतजस्तो अमानवीय सामाजिक अपराधको घटनामा अहिलेसम्मकै महत्वपूर्ण न्यायिक फैसला आएको भन्दै दलित अगुवा र अधिकारकर्मीहरुले समेत धन्यवाद ¥यालीमा सहभागिता जनाउनेछन् । मुद्दामा थुनछेक बहस सकिएपछि पनि घटनामा मारिएका ६ युवाका आमाहरुले काठमाडौंको माइतीघरमा आएर न्याय माग्दै विरोध प्रदर्शन गरेका थिए । २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी २१ वर्षीय युवतीलाई भेट्न पुगेका उनका प्रेमी नवराजसहितका साथीहरू स्थानीयको आक्रमणमा परेका थिए । त्यसबेला नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो।

उनीहरूको शव दुई सातासम्मको खोजीपछि भेरी नदी किनारबाट संकलन गरिएको थियो । घटनामा अरू १२ जना घाइते भएका थिए। घटनालगत्तै नवराजका बुबा मुनलालको जाहेरीमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध २०७७ जेठ ३२ मा मुद्दा दायर भएको थियो । त्यसमध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग र एक जनालाई यी सबै अपराधमा मतियारको भूमिका निर्वाह गरेको अभियोग लागेको थियो। आरोपित ८ जनाले भने सफाइ पाएका छन् ।