श्रीमानले निर्घात कुटेर श्रीमतीलाई गम्भीर घाइते बनाए

श्रीमानले निर्घात कुटेर श्रीमतीलाई गम्भीर घाइते बनाए

काठमाडौं । डेढ वर्षअघि गीता माझीलाई पाठेघरमा हात घुसाएर निर्मम तरिकाले श्रीमानले हत्या गरेको पूर्वी चितवनको खैरहनी नगरपालिका १०, कठारको माझी बस्तीमा अर्की महिलालाई श्रीमानले कुटेर गम्भीर घाइते बनाएका छन् ।

२७ वर्षकी राधिका माझीलाई उनका श्रीमान् ३० वर्षका गर्भा माझीले रक्सी सेवन गरी साँझ ६ बजेतिर कुट्दा टाउकोमा चोट लागेर राधिका गम्भीर घाइते भएकी हुन् । सोही बस्तीमा घर भएकी खैरहनी १० की वडा सदस्य ग्यायन्ती पासवानका अनुसार मादक पदार्थ सेवन गरी गर्भाले कुटपिट गर्दा घाइते भएकी राधिका बेहोस अवस्थामा छिन् । उनलाई इलाका प्रहरी कार्यालय खैरहनीले उपचारको लागि भरतपुर अस्पताल लगेको छ । भने, श्रीमान् गर्भालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार गर्भा अहिले रक्सीले मातेको कारणले के कारणले कुटपिट गरेको खुलेको छैन । गर्भाले यसअघि पनि कुटपिट गर्दा राधिकाको दाहिने हात भाँच्चिएको थियो । ग्यायन्तीका अनुसार तीन वटा छोराछोरीलाई राधिका एक्लैले रेखदेख गर्दै आएकी थिइन् । आफू काम पनि नगर्ने तर, मादक पदार्थ सेवन गरी राधिकालाई गर्भाले हरेक दिन कुटपिट गर्ने गर्दथे ।

डेढ वर्षअघि २०७९ जेठ महिनामा सोही बस्तीकी गीता माझीलाई उनका श्रीमानले पाठेघरमा हात हालेर यातना दिँदा गीता माझीको निधन भएको थियो ।