गोली हानेको ठाउँ जहाँ प्रहरीले भेट्यो खिया लागेको पेस्तोल

गोली हानेको ठाउँ जहाँ प्रहरीले भेट्यो खिया लागेको पेस्तोल

काठमाडौं । प्रहरीले मंगलबार गोली हानेर पक्राउ गरेको युवक अविनाश राईको साथबाट ४९० ग्राम आइस ड्रग एमफेटामिन बरामद भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार निकै महँगो र नसालु मानिने एमफेटामिनसहित उदयपुरका राई पक्राउ परेका छन् ।

ललितपुरको झम्सीखेलमा राई रहेको स्थानमा प्रहरी पुग्ने बित्तिकै उनले प्रहरी टोलीमाथि आक्रमण गरेको रेग्मीले दाबी गरे । त्यसक्रममा नियन्त्रणमा लिन गोली चलाएको उनको भनाइ छ । प्रहरीको गोली राईको दाहिने खुट्टामा लागेको छ । उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गोली चलाएर राईलाई पक्राउ गरेको ठाउँमा प्रहरीले खिया लागेको पेस्तोल र त्यसमा लाग्ने केही राउण्ड गोली भेटेको जनाएको छ । 

पक्राउ परेका राई लागूऔषधको मुख्य कारोबारी भएको दाबी प्रहरीको छ । लागूऔषध एमफिटामिन विशेषतः विभिन्न ड्रग पार्टीहरुमा प्रयोग हुँदै आएको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १५ कात्तिकमा पनि काठमाडौंको गोठाटारमा गोली चलाएको थियो । त्यतिबेला पनि लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको प्रहरीको दाबी थियो ।