चितवनका किसानले अझै पाएनन् दूधको २२ करोड भुक्तानी

चितवनका किसानले अझै पाएनन् दूधको २२ करोड भुक्तानी

काठमाडौं । जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको २२ करोड रुपैयाँ रकम पाउन सकेका छैनन् । यहाँ रहेका एक सय १५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानले समेत दूधको मूल्य पाउन नसकेका हुन् ।

असोजदेखिको भुक्तानी रकम नपाउँदा किसान चिन्तित बनेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले बताए । उनले भने, ‘दुग्ध विकास संस्था र निजी दुग्ध उत्पादक कम्पनीले दूध लगेबापतका रकम अहिलेसम्म नदिँदा किसानलाई समस्या भएको छ ।’ हरेक १५–१५ दिनमा दूधको भुक्तानी पाउनुपर्ने भए पनि लामो समयसम्म दूधको भुक्तानी नपाउँदा दुग्ध उत्पादक किसानले पशुलाई आहार खुवाउनसमेत कठिन बन्दै गएको उनको भनाइ छ ।

दुग्ध विकास बोर्डबाट यहाँका किसानले ११ करोड रुपैयाँ  पोखरामा रहेको सुजल डेरी उद्योगले दुई करोड र अन्य निजी डेरी कम्पनीको गरेर २२ करोड रुपैयाँ बाँकी रहेको छ । यहाँ दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको बगालेले बताए । ‘अहिले दूध खपत हुन कठिन भएको छ, तर जेनतेन गइरहेको छ’, उनले भने ।

यहाँ उत्पादित दूधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ । अन्य दूध जिल्लामै खपत हुने गरेको उनले जानकारी दिए । ‘किसानले भुक्तानी नपाउँदा समस्या भएको छ, अन्य जिल्लामा ‘मिल्क होडिडे’ मनाउन थाले, यहाँ अहिले नै त्यस्तो नहोला भन्नेमा छौँ’ बगालेले भने ।

उत्पादित दूध बिक्री गर्न कठिन हुने गरेको उनले बताए । अघिल्ला वर्षको तुलनामा यस वर्ष यो समयमा कम दूध बिक्री भएको उनले जानकारी दिए ।