माइतीघरमा सरकारले रोक लगाएपछि शान्ति बाटिकामा पीडितहरुको धर्ना

माइतीघरमा सरकारले रोक लगाएपछि शान्ति बाटिकामा पीडितहरुको धर्ना

काठमाडौँ । माइतीघरमा प्रदर्शन गर्दै आएका प्रदर्शनकारीहरूले रत्नपार्कस्थित शान्ति बाटिकामा धर्ना सुरु गरेका छन् । केही हप्ता अघिसम्म माइतीघरमा प्रदर्शनरत मिटर ब्याज पीडित र आरती शाहको परिवारले शान्ति बाटिकामा धर्ना सुरु गरेको हो ।  

शुक्रवार उनीहरुले पत्रकार सम्मेलन गरी माइतीघर र शान्ति बाटिकामा प्रदर्शन गर्न पाउनुपर्ने माग गरेका छन् । माइतीघर र शान्ति बाटिका जनताको सम्पत्ति भएको भन्दै उनीहरुले माइतीघर क्षेत्रमा लगाएको निषेधाज्ञा खारेज गर्न समेत माग गरेका छन् ।

‘जनताको अधिकार खोस्न पाइँदैन, जनतालाई निषेध गर्न पाइँदैन’ धर्नामा सहभागीले बोकेका प्लेकार्डमा लेखिएको छ । सरकारले केही हप्ताअघि माइतीघर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको थियो ।