आरती साह मृत्यु प्रकरण : श्रीमान मोतीबाबु साहलाई थुनामा पठाउन सर्वोच्चको आदेश

आरती साह मृत्यु प्रकरण : श्रीमान मोतीबाबु साहलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा आरतीका श्रीमान मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले आज साहलाई थुनामा पठाउने आदेश दिएको हो ।

आरती गएको जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन् । आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका श्रीमान मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध असार १ मा जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दायर भएकोमा थुनछेक बहसपछि असार ५ मा जिल्ला अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर उच्च अदालत जनकपुरधामले उनीहरुलाई रिहा गर्ने आदेश दिएको थियो ।

उच्च अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यलयले गरेको पुनरावेदन निवेदनमा सर्वोच्च अदालतले आज सुनुवाइ गर्दै ससुरा मदनमोहन ब्याहुत सुडीलाई रिहा गर्ने र श्रीमान मोतीबाबुलाई भने थुनामा पठाउने आदेश दिएको हो  ।

आरती साहको माइती पक्षले न्यायको लागि काठमाण्डौको माइतीघरमा प्रदर्शनसमेत गरेको थियो ।