नयाँ बसपार्ककै होटलमा बालिकालाई यौन धन्दा गर्न बाध्य बनाइयो, ३ जनाको उद्धार

नयाँ बसपार्ककै होटलमा बालिकालाई यौन धन्दा गर्न बाध्य बनाइयो, ३ जनाको उद्धार

काठमाडौँ । होटल सञ्चालकले जबरजस्ती यौन गतिविधिमा संलग्न गराएका ३ जना नाबालिकाको उद्धार गरिएको छ। यस सन्दर्भमा काठमाडौँको नयाँबसपार्कस्थित पश्चिम लुम्बिनी गेष्ट हाउसकी एक महिला पक्राउ परेकी छन्।

मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले ३ जना नाबालिकाको उद्धार गरी उनीहरुलाई ललाइफकाइ यौन गतिविधिमा लगाउने तनहुँ भिमाद नगरपालिकाकी २५ वर्षीया सपना तामाङ भनिने पूजा रानालाई पक्राउ गरेको हो।

रानाले आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरुलाई धागो कात्ने, घरमा बच्चा हेर्ने र होटलमा सरसफाइको काममा लगाई आकर्षक तलब सुविधाको प्रलोभनमा काठमाडौँ बोलाउने गरेको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

त्यसरी बोलाइएका नाबालिकाहरुलाई बसपार्क र कलंकीस्थित विभिन्न होटल तथा गेष्ट हाउसमा राख्ने गरेको पाइएको छ। उद्धार गरिएका नाबालिकाहरुलाई गत १० महिनादेखि विभिन्न डर त्रास देखाई जबरजस्ती यौन गतिविधिमा संलग्न गराएको अनुसन्धानको क्रममा खुलेको पनि प्रहरीले जनाएको छ।