सरकारका मन्त्री फेर्ने चर्चाबारे के भन्छन् अर्थमन्त्री महत ?

सरकारका मन्त्री फेर्ने चर्चाबारे के भन्छन् अर्थमन्त्री महत ?

काठमाडौं । अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मन्त्रीको सेटै फेर्ने विषय आफूलाई थाहा नभएको बताएका छन्।

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले पछिल्लो चर्चाबारे अनभिज्ञता जनाएका हुन्।

‘जुन बेलामा जे होला, थाहा भइहाल्छ’, उनले भने, ‘मलाई चाहिँ थाहा भएको कुरा भएन। न प्रधानमन्त्रीले बताउनुभएको छ, न पार्टी सभापतिले बताउनुभएको छ।’

बुधबारको बैठकमा कांग्रेसको आगामी महासमितिको बैठकबारे छलफल भएको महतले बताए। महासमिति बैठकलाई भव्य तरिकाबाट सम्पन्न गर्न, जनसरोकार, समसायमिक तथा राष्ट्रिय महत्त्वको विषयमा पार्टीको दृष्टिकोण प्रस्तुत र छलफल गर्ने लगायतका विषयमा भइरहेका तयारीका सन्दर्भमा महामन्त्रीहरूले धारणा राखेका उनले जानकारी दिए।

महतका अनुसार बैठकमा जाजरकोट भूकम्पको सन्दर्भमा पनि छलफल भएको छ। ‘आउने दिनमा पार्टीको तर्फबाट राहत पुर्‍याउने काम र सरकारको तर्फबाट गर्ने कामका बारेमा पनि छलफल भयो’, उनले भने, ‘मैले पनि त्यस विषयमा केही कुरा राखेँ।’

अर्थतन्त्रको चुनौती र त्यसलाई निराकरणका लागि भइरहेको प्रयासका बारेमा पनि आफूले धारणा राखेको उनको भनाइ छ।