हमासले दुई पटक छोड्दा पनि आएन विपिनको पालो, यस्तो छ कारण....

हमासले दुई पटक छोड्दा पनि आएन विपिनको पालो, यस्तो छ कारण....

काठमाडौँ । गाजास्थित हमास समूहले कब्जामा लिएका ४१ जनालाई रिहा गरिसकेको छ । पहिलो पटक शुक्रवार हमासले १३ इजरायली, १० थाई र १ फिलिपिनोसहित २४ जनालाई मुक्त गरेको थियो । त्यस्तै दोस्रो पटक १७ जनालाई रिहा गरेको हो । त्यसको बदलामा इजरायलले तेब्बर बढीको सङ्ख्यामा प्लालेस्टिनीहरू रिहा गरेको छ । हमासले दुई–दुई पटक बन्धकहरू छोडिसक्दा पनि नेपालका विपिन जोशी भने पर्न सकेका छैनन् । गत अक्टोबर ७ तारिखमा हमास समूहले आक्रमण गरेर जोशी सहितकालाई बन्धक बनाएर लगेको थियो ।

अन्यलाई धमाधम रिहा गरिरहँदा जोशी भने रिहा हुने टोलीमा पर्न सकेका छैनन् ।  इजरायलस्थित नेपाली दूतावासले जोशीको रिहाइबारे आफूहरू जानकारी नहुने बताएको छ । राजदूत कान्ता रिजालले कहिले रिहाइ हुन्छ भन्ने विषयमा आफूहरूलाई जानकारी नहुने बताइन् ।  ‘कहिले रिहा हुन्छन् भन्नेबारे हामीलाई केही जानकारी हुँदैन । रिहा हुने भयो भने केही समय अगाडि मात्रै हामीलाई जानकारी गराइन्छ ।’ उनले भनिन् ।  

जोशीको रिहाइको लागि नेपालले कूटनीतिक पहल जारी राखेको छ । दुई दिने नेपाल भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्रीसँग समेत नेपालले जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेको थियो । त्यस्तै इजरायलसँग समेत नेपालले जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गर्दै आएको छ । तर पनि जोशी भने दुई पटकको रिहाइमा पर्न सकेका छैनन् । राजदूत रिजालले जोशीको रिहाइका लागि कूटनीतिक पहल जारी रहेको बताइन् । 

सरकार र दूतावासले जोशीको रिहाइका लागि अथक प्रयास गरिरहेको छ । तर, त्यो प्रयासले सार्थकता पाउन सकेको छैन ।  हमास समूहले १८ वर्ष मुनीका बालबालिका, वृद्धवृद्धा तथा महिलालाई रिहा गर्ने बताउँदै आएको छ । सोही कारणले उसले त्यही आधारमा रिहा गर्दै आएको छ ।  हमास समूहले रिहा गरेकाहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस संगठन (आईसीआरसी) का प्रतिनिधिहरूको जिम्मा लगाउँदै आएका छन् ।

कतारको मध्यस्थतामा इजरायल र हमासबीच चार दिने अस्थायी युद्धविराम भएको थियो । त्यो बीचमा बन्दी रिहा गर्ने सम्झौता भएको थियो । सोही अनुसार हमासले बन्धक बनाएकाहरूलाई रिहा गर्दै आएको छ । त्यसको बदलमा एक जनाको साटा इजरायलले तीन जना प्यालेस्टिनीलाई रिहा गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।