माओवादीसँग एकताका लागि बाबुरामको नेतृत्वमा एकता समायोजन समिति गठन हुने

माओवादीसँग एकताका लागि बाबुरामको नेतृत्वमा एकता समायोजन समिति गठन हुने

काठमाडौँ । माओवादी केन्द्रसँग पार्टी एकताको लागि नेपाल समाजवादी पार्टीमा अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा एकता संयोजन समिति गठन गर्ने सहमति भएको छ । सोमबार राति भट्टराई निवास टोखामा बसेको चार जना शीर्ष नेताहरूको बैठकले एकता समायोजन समिति बनाउने सहमति गरेको हो । 

समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव समेत रहने महासचिव रमेश यादवले रातोपाटीलाई जानकारी दिए । यादवका अनुसार यसअघि महाधिवेशन बोलाउने निर्णय खारेज गरेको छ । भट्टराई कै नेतृत्वमा माओवादीसँग पार्टी एकता प्रक्रिया अगाडि बढाइनेछ । ‘डाक्टर साबको नेतृत्वमा एकता समायोजन समिति गठन गर्ने सहमति भयो । समितिमा महिन्द्रजी पनि रहनु हुन्छ । महाधिवेशनको एजेण्डा खारेज भयो । केन्द्रीय कार्यकारिणी बैठकमा पार्टी एकता र समायोजन समिति गठनसम्बन्धी २ वटा एजेण्डामात्र समावेश हुन्छ’, महासचिव यादवले भने । 

त्यस्तै सङ्गठन सुदृढीकरणका लागि ६ महिने अभियान जारी राख्ने, राष्ट्रिय भेला बोलाउने लगायत एजेण्ड बैठकमा समावेश हुन्छ । यसलाई अनुमोदनका लागि ८ बजे पदाधिकारी बैठक बस्दै छ । दिउँसो ३ बजे बस्ने कार्यकारिणी बैठकले यो निर्णय अनुमोदन गर्ने यादवले बताए । कार्यकारिणी बैठकको निर्णय ६ गते बस्ने केन्द्रीय कार्यकारिणी बैठकले अनुमोदन गर्नेछ । 

बैठकमा अध्यक्ष द्वयले पार्टीभित्र केही समस्या देखिए पनि एकताबद्ध भएर हल गर्ने र माओवादीसँग पार्टी एकता गर्ने समझदारी भएको यादवको दाबी छ । सोमबार बेलुका ८ बजे बसेको बैठक राति ११ः४० बजेसम्म बसेको थियो ।