महाराजगन्जमा गोली लागेर घाइते असई चौधरीकी श्रीमतीको मृत्यु

महाराजगन्जमा गोली लागेर घाइते असई चौधरीकी श्रीमतीको मृत्यु

काठमाडौं । गोली लागेर घाइते भएकी नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ ।

सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको काठमाडौं प्रहरी परिसर स्रोतले बतायो ।

उनी नौ दिन अघि पति लक्ष्मणको पेस्तोलको गोली लागेको अवस्थामा निवासमै घाइते अवस्थामा फेला परेकी थिइन् । असई चौधरी घरमा नभएका बेला पत्नी शर्मिलाले आफैंलाई गोली हानेको आशंका प्रहरीका अधिकृतहरुले गरेका छन् ।

यसबारे थप अनुसन्धान प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौंबाट भइरहेको प्रहरी अधिकृतहरु बताउँछन् ।