काठमाडौंस्थित दिव्य सःमिलमा एकै परिवारका ३ सहित ४ जनाको हत्या

काठमाडौंस्थित दिव्य सःमिलमा एकै परिवारका ३ सहित ४ जनाको हत्या

काठमाडौं । काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ । गैह्रीगाउँको दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी  श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए । उनका अनुसार चारै जना सोही सःमिलमा कार्यरत थिए । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ ।

प्रहरी यो घटनामा संलग्न रहेको आशंकामा २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाका अनुसार, राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा पक्राउ गरिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ । थप अनुसन्धानका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी परिसर काठमाडौंको टोली खटिएको प्रमुख थापाले जानकारी दिए ।

घटनाको यकिन कारण खुलेको छैन । घटनास्थलमा नेपाल प्रहरीको केनाइन महाशाखाबाट ट्रयाकर कुकुरहरू पनि ल्याइएको थियो ।