टीआरसीबारे प्रधानमन्त्रीलाई सभामुखले भने : दलहरुबीच सहमति जुटाउनुहोस्

टीआरसीबारे प्रधानमन्त्रीलाई सभामुखले भने : दलहरुबीच सहमति जुटाउनुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी)लाई अगाडि बढाउने विषयमा सभामुख देवराज घिमिरेको सहयोग मागेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विगत विधेयक ६ महिनादेखि प्रतिनिधि सभामा विचाराधीन छ ।

यसलाई छिटो अगाडि बढाउन र दलीय सहमति जुटाउन पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले छलफल तीव्र बनाएका छन् । यही क्रममा प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेसाग पनि पटक–पटक छलफल गरेका छन् । बुधबार पनि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री प्रचण्डले टीआरसीलाई छिटो अगाडि बढाइदिन सभामुख घिमिरेलाई आग्रह गरेका थिए ।

जवाफमा सभामुख घिमिरेले भनेका छन्, ‘दलीय सहमति जुटाउनुस् । यसो भयो भने हाउसको तर्फबाट सहयोग रहन्छ ।’ संक्रमणकालीन न्यायमा दलहरुका बीचमा सहमति भए त्यसले सकारात्मक सन्देश दिने भन्दै सभामुख घिमिरेले दलीय सहमतिमा जोड दिएका छन्  ।

प्रधानमन्त्री र सभामुखबीच संसदको चालु अधिवेशन अन्त्यको विषयमा समेत छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयक पास भएपछि संसद अधिवेशन अन्त्य गर्ने सोच रहेको बताएका छन् ।