कांग्रेसमा दाइ–भाउजू प्रवृत्ति हाबी भयो : अर्जुननरसिंह केसी

कांग्रेसमा दाइ–भाउजू प्रवृत्ति हाबी भयो : अर्जुननरसिंह केसी

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अर्जुननरसिंह केसीले पार्टीमा दाइ–भाउजू प्रवृत्ति हाबी भएको भन्दै त्यसले पार्टीलाई उभो लाग्न नदिएको टिप्पणी गरेका छन् ।

मंगलबार कांग्रेस चितवन क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वमन्त्री केसीले कार्यकर्ताले सत्यलाई बन्धकी राख्नाले पार्टी क्षयीकरणको बाटोमा गएको तर्फ संकेत गरे ।

‘पार्टीका दाइभाउजुले भनिसके अब मान्नुपर्छ भनेर सत्यलाई बन्धकी राख्ने कार्यकर्ता वा नेता कायर वा दास हुन् यीनिहरूबाट पार्टी उभो लाग्दैँन,’ केसीले भने ।

पछिल्लो समय नेपालमा नेताहरूको प्रवृत्ति लोकतान्त्रिक नभएको र पार्टीभित्रको प्रवृत्तिले नै कांग्रेस कमजोर भएको केसीको भनाइ छ । विचार लिएर अन्य जुनसुकै पार्टी आउन सक्ने भए पनि अरु पार्टी कमजोर भएर नेपाली कांग्रेस बलियो हुन नसक्ने बताए ।

‘लोकतन्त्र एउटा प्रक्रियाको नाम हो प्रद्धति हो, नेपाली कांग्रेस विचार नमिल्नेहरूसँग पनि सँगसँगै जानुपर्छ भन्ने मान्यता राख्छ । तर, पछिल्लो समय नेपालमा नेताहरूको प्रवृत्ति लोकतान्त्रिक नभएको र पार्टीभित्रको प्रवृत्तिले नै कांग्रेस कमजोर भएको हो,ु केसीले भने, ुविचार लिएर नयाँ पार्टी आउन सक्छ अरु कमजोर भएर कांग्रेस बलियो हुँदैन, अरुको घर भत्केर आफ्नो बलियो हुँदैन ।’

पछिल्लो समय धार्मिक द्धन्द्ध बढ्दै गएको बताउँदै त्यसलाई समयमै सरकारले समाधानको पहल गर्नुपर्नेमा जोड दिए । ‘हामीले बुझ्नुपर्छ जनप्रियतावादबाटै हिटलर जन्मेका हुन् । तसर्थ यथार्थ र आदर्शबाट मात्रै देश चल्छ । बहुजातीय, बहुसांस्कृतिक र धार्मिक सहिष्णुता भएको देशमा धार्मिक द्वन्द्वको खतरा बढ्दै छ । त्यसलाई राज्यले समयमै समाधानको पहल लिनुपर्छ,’ उनले भने ।

त्यसैगरी पछिल्ला चर्चित काण्डहरूसहित वाइडबडी यति ओम्नीसम्मका काण्डसम्म छानबिन गर्न सरकारले खुट्टा कमाउन नहुने उनको भनाइ छ । गाउँगाउँबाट भष्टाचारको विषयमा विरोध कार्यक्रम अगाडि बढाँउदै कांग्रेस अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।