लुम्बिनीमा एमालेले लत्यायो ओलीको आदेश, नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु

लुम्बिनीमा एमालेले लत्यायो ओलीको आदेश, नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु

काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । आज बिहान निर्वाचनका लागि उमेदवारी मनोनयनको काम भइरहेको छ । 

१० बजेसम्म उमेदवारी दर्ताको समय छ । “त्यसपछि उमेदवारी फिर्ताको समय दिइनेछ । उमेदवारी फिर्ता नभए निर्वाचन हुन्छ,” निर्वाचन आयोगका सदस्य विष्णु खनालले भने । 

अधिवेशनबाट २०५ सदस्यीय कमिटी चयन हुनेछ । अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजालले उमेदवारी दिएका छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकट हुन् ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनमा सहमतिको प्रयास भइरहे पनि उनीहरू एकले अर्कालाई छाड्न मानेका छैनन् । 

अधिवेशनको उद्घाटन गर्दै शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरूलाई सहमतिमा नेतृत्व टुंग्याउन निर्देशन दिए । सचिवालयका ६ नेता रहेको प्रदेशमा लफडा भएको भन्दै आइतबार राति नै नेतृत्व टुंग्याउन मञ्चबाटै अह्राए । तर उनको आदेश प्रदेश कमिटीले लत्याएको छ ।