सुन प्रकरणको अनुसन्धान गर्न एआईजी बज्राचार्यको नेतृत्वमा उच्चस्तरीय समिति गठन

सुन प्रकरणको अनुसन्धान गर्न एआईजी बज्राचार्यको नेतृत्वमा उच्चस्तरीय समिति गठन

काठमाडौं । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले सो समिति गठन गरेका हुन् । बज्राचार्य सिआईबीकी निर्देशक हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरोले एसपी सञ्जयसिंह थापाको कमान्डमा टिम बनाएर साउन २२ देखि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान टोलीलाई अनुगमन र सहजीकरण गर्न उच्चस्तरीय समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । समितिमा विशेष ब्युरोका डिआइजी रामदत्त जोशी र एसपी कृष्ण कोइराला सदस्य छन् । धनकुटामा कार्यरत प्रहरी उपरीक्षक कोइरालालाई सङ्गठित अपराध अनुसन्धानमा जानकारको रूपमा अनुसन्धान गर्न बोलाइएको हो । त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट बरामद सुन सङ्गठित तरिकाले तस्करी भएको भन्दै राजस्व अनुसन्धान विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सिआईबीलाई हस्तान्तरण गरेको थियो । ब्युरोले अनुसन्धान सुरु गरेपछि चिनियाँ नागरिक बस्ने डेरा र गोदाम सहित १० ठाउँमा छापा मारिएको अनुसन्धान अधिकृतहरुले जानकारी दिए ।