आजदेखि मौसम सुधार हुदैं जाने

आजदेखि मौसम सुधार हुदैं जाने

काठमाडौँ । केही दिनदेखि परेको लगातारको वर्षा आजदेखि कम हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम क्षेत्रबाट मौसम केही सुधार हुँदै गएको र आजदेखि मौसममा केही सुधार आउने मौसमविद् सञ्जीव अधिकारीले बताएका हुन् । 

उनले भने, ‘लगातारको वर्षा भने आजबाट रोकिने छ, तर देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहने छ ।’ आज दिउँसो मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए । 

गए राति कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको र अहिले कोशी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा आज आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ ।