बुटवल-नारायणगढ सडकखण्ड : आधादशकमा पनि काम सकिएन, यात्रुलाई सास्ती

बुटवल-नारायणगढ सडकखण्ड : आधादशकमा पनि काम सकिएन, यात्रुलाई सास्ती

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको तोकिएको म्यादभित्र पुरा नभएपछि म्याद थप भएको छ । तर, म्याद थप भएपनि कामले गति पाउन सकेको छैन । सडक खण्ड एसियाली विकास बैंकको ऋण सहयोगमा ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ले ठेक्का लिएर २०७५ चैतबाट निर्माण सुरु गरेको थियो । ४२ महिनाभित्र सम्पन्न सडक निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको थियो । तर करिब आधा दशक समय बितिसक्दापनि सडक निर्माण सम्पन्न हुन सकेको छैन  । अहिलेको पुन एक वर्ष थप गरिएको छ । 

हालसम्म भौतिक प्रगति जम्मा ३८ प्रतिशत मात्र भएको छ । दुई खण्डमा विभाजन भएको सडकको काम पश्चिम भन्दा पूर्वमा धेरै भएको छ । हालसम्म दाउन्ने पूर्व खण्डमा ४० प्रतिशत र दाउन्ने पश्चिम खण्डमा ३६ प्रतिशत काम भएको छ । त्यस्तै, खर्चको हिसावले  पूर्वमा २९ प्रतिशत र पश्चिममा २३ प्रतिशत भएको छ । गैँडाकोट–दाउन्ने सडक खण्डमा पर्ने ६५ किमी खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार  र दाउन्ने–बुटवल खण्डमा पर्ने ४९ किमी खण्डको लागत रु.७ अर्ब ८६ करोड ३४ लाख छ । 

सवारी चाप बढेपछि पूर्वपश्चिम राजमार्गको मध्यखण्ड बुटवल–नारायणगढको १ सय १४ किलोमिटर सडक सहरी भेगमा ‘सिक्स लेन’ र जङ्गली क्षेत्रमा ‘फोर लेन’ मा विस्तार कार्य दुई खण्डमा विभाजन गरेर काम अघि बढाइएको थियो ।