२३ क्विन्टल सुन रातारात बाहिर पठाइएको सूचना हामीसँग छ : गोकुल बास्कोटा

२३ क्विन्टल सुन रातारात बाहिर पठाइएको सूचना हामीसँग छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले आफूहरुले उच्चस्तरीय छानबिन आयोगको माग गरेपछि २३ क्विन्टल सुन रातारात बाहिर पठाइएको दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ठूलो मात्रामा सुन बाहिर पठाएर एक क्विन्टल सुन समातिएको बताए ।

उनले भने, ‘यो फगत नौटंकी हो वा खास कारणले समातियो, यसको पनि पर्दा खुल्दै जाला । अब हामी एउटा आयोग बनाउने कुरा गरेपछि त्यसको प्रतीक्षामा छौं ।’

लोकतन्त्रमा प्रतिपक्षको आवाज रोक्न खोजेपछि संसद अवरोध भएको बास्कोटाले बताए । उनले स्टन्ट छाडेर सत्यतथ्य कुरा बाहिर ल्याउन चुनौती दिए ।

सांसद बास्कोटाले पूर्व देखाएर पश्चिम हान्ने माओवादीको नीतिप्रति संकेत गर्दै जलहरी र ३३ किलो सुनको हल्ला सदनमा चलाएर सरकारले एयरपोर्टमा क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेको आरोप लगाए ।

उनले नेकपा एसका मेटमणी चौधरी,माओवादी केन्द्रका राजन दाहाल,कांग्रेसका रामहरी खतिवडाहरुप्रति संकेत गर्दै फलानो फाइल खोलेर फलानो नेतालाई थुन्छौं भन्ने हावादारी कुरा नगर्न चेतावनी दिए । उनले सबै फाइल खोल्न चुनौति समेत दिए ।