मोरङमा विक्री भएका शिशुको उद्धार, डाक्टर पक्राउ

मोरङमा विक्री भएका शिशुको उद्धार, डाक्टर पक्राउ

विराटनगर । विराटनगरको ग्रीनक्रस अस्पतालबाट हराएको नवशिशुलाई बिक्री गरेको अवस्थामा प्रहरीले उद्धार गरेको छ । मोरङको कटहरी गाउँपालिका–२ बाट प्रहरीले मंगलबार शिशुको उद्धार गरेको छ, शिशुको अवस्था सामान्य छ ।

शिशुलाई बेपत्ता पारेको आरोपमा प्रहरीले अस्पतालका चिकित्सक डा तपेश्वरलाल कर्ण र अर्का एक युवकलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा डा कर्णकै संलग्नतामा ५० हजार रुपैयाँमा शिशु बिक्री गरेको देखिएको प्रहरीको दाबी छ ।

आफ्नो सन्तानलाई बेपत्ता पारेको भन्दै शिशुको आमाले जाहेरी दिएपछि प्रहरीले प्रसूति रोग विशेषज्ञ डा तपेश्वरलाल कर्ण र गोविन्द राई नामका युवकलाई पक्राउ गरेको छ । उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा शिशु मोरङ कटहरी गाउँपालिका– २ की दिलमाया राजवंशीलाई बिक्री गरेको खुलेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले भने, ‘बच्चा लैजाने क्रममा ५० हजार रुपैयाँ दिएको भनेका छन्’ उनले भने, ‘रकम अलिक बढी दिएजस्तो देखिन्छ अनुसन्धान गर्दैछौं ।’

शिशु किनबेचका लागि अस्पतालकै कर्मचारीले डिल गरेको देखिएको उनले बताए । बच्चा बिक्रीमा सहयोग गरेको आरोपमा प्रहरीले अस्पतालकी कर्मचारी सुधा राजवंशी र डाक्टर कर्णको क्लिनिकका कर्मचारी निर्मला यादवलाई पनि पक्राउ गरेको छ ।