प्रचण्ड सरकार यतिसम्म भ्रष्ट होला भन्ने कल्पनै गरेको थिइन : केपी ओली

प्रचण्ड सरकार यतिसम्म भ्रष्ट होला भन्ने कल्पनै गरेको थिइन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जस्तो भ्रष्ट सरकार दुनियाँमा कतै नभएको बताएका छन् ।

नेकपा एमाले मुख्यालयमा आज छक्कबहादुर लामालाई केन्द्रीय सदस्यको शपथ खुवाएपछि सम्वोधन गर्दै ओलीले भने, ‘यो सुन तस्करी वर्तमान सरकारले नगराएको भए कसले गरायो ? साधारण जनताले एउटा सानो थैली लिएर जाँदा पनि जाँच हुन्छ । अनि एउटा आइटममा क्विन्टल सुन आउँदा सजिलै पास हुन्छ, के हो त्यो ?’

यो सरकारका पालामै तीन हजारभन्दा बढी केजी सुन तस्करी भएको उनको भनाइ छ । प्रचण्ड सरकार  यतिसम्म भ्रष्ट होला भन्ने आफूले कल्पनै नगरेको उनको भनाइ थियो । 


उनले एमालेलाई डेमोक्रेसीको मतलब छैन भनेर हल्ला गरेको आरोप लगाए । ‘के सुन खानेहरुलाई डेमोक्रेसीको मतलब छ ? तस्करहरुलाई डेमोक्रेसीको मतलब छ ? हामीलाई छैन ? यस्तो पनि हुन्छ’, ओलीले भने, ‘तर, उनीहरु त्यस्तै कुरा गरिहेका छन् । हामी देशलाई समृद्धिको दिशामा अघि बढाउन खोजिरहेका छौं ।’

ओलीले अहिलेको सरकारलाई अनौठो सरकारको संज्ञा दिए । ‘एउटा बाटोबाट एउटा आइटम देखाएर ल्याएको मात्रै एक क्विन्टल सुन हुने रहेछ । विमानस्थल त ल्याउनै नसकिने ठाउँ हो नि ? ब्रेक शु भनेर पनि ल्याएकै छ । सिगरेट भनेको छ, त्यसमा पनि ल्याएको छ’, ओलीले भने, ‘जेमा पनि सुन ल्याएको छ । अनि अब सबैका फाइल खोलिन्छ भनेर त्यही सरकार हल्ला चलाउँछ ।’

उनले माओवादीलाई एउटा डफ्फाको संज्ञा दिए । ‘माओवादीको एउटा डफ्फा छ । त्यो डफ्फाको काम नै यस्तै खालका क्रियाकलाप गर्ने हो’, उनले भने, ‘बदमासी काम गर्ने अनि हल्ला अर्कोतिर चलाइदिने । नेपालीहरु भनेका सोझा जातका छन् । हल्लाका पछि कुद्छन् । उनीहरुका मान्छेले प्रायोजित हल्ला चलाउँछन् ।’

अहिले नेकपा एमालेले संसद चल्न दिएन भनेर हल्ला चलाउने कामसमेत माओवादीले गरेको ओलीको भनाइ थियो ।