सातै प्रदेशमा समाजवादी मोर्चाको घोषणा कार्यक्रम, कुल प्रदेशमा कुन दल आयोजक ?

सातै प्रदेशमा समाजवादी मोर्चाको घोषणा कार्यक्रम, कुल प्रदेशमा कुन दल आयोजक ?

काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले प्रदेशस्तरमा मोर्चाको गठन र घोषणाका लागि कार्यक्रम तय गरेको छ । सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको बैठकले कार्यक्रमको मिति तय गर्दै त्यसका लागि दलहरुबाट आयोजक समेत  चुनिएको छ । 

जसअनुसार भदौ ८ गते वीरगन्जमा मधेस प्रदेशको मोर्चा घोषणा कार्यक्रम हुनेछ । जसको आयोजक जनता समाजवादी पार्टी (जसपा) रहने तय भएको छ ।  यसैगरी भदौ १२ गते नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा लुम्बिनीको बुटवलमा, भदौ १३ गते सुदूरपश्चिमको धनगढीमा एकीकृत समावजादीको आयोजनामा कार्यक्रम गर्नेगरी टुंगो लगाइएको छ । 

यसैगरी भदौ १४ गते कर्णालीको सुर्खेतमा माओवादी केन्द्रको आयोजनामा कार्यक्रम हुनेछ भने भदौ १५ गते बागमती प्रदेशको हेटौँडामा एकीकृत समाजवादीको आयोजनामा कार्यक्रम हुनेछ ।  यसैगरी भदौ २५ गते कोशी प्रदेशको विराटनगरमा जनता समाजवादी पार्टीको आयोजनामा कार्यक्रम हुनेछ ।

सबै कार्यक्रम दिउँसो १ बजेका लागि तय गरिएको मोर्चाका सदस्य सचिव प्रमेश हमालले जानकारी दिए ।  आजको बैठकमा तीनवटा एजेन्डामा छलफलहरू भएका थिए । जसमा समसामयिक राजनीति, सातै प्रदेशमा घोषणासभा र मोर्चाको सचिवालयले गरेका निर्णयहरू अनुमोदन गर्ने रहेको थियो ।