काठमाडौं महानगरले कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने

काठमाडौं महानगरले कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले मातहतका सबै सामुदायिक विद्यालयमा कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने भएको छ । महानगरपालिकाको नगर कार्यपालिकाका अनुसार दिवा खाजा कार्यक्रम भदौ १ देखि लागु गरिएको छ ।

महानगरपालिकाले यसअघि कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरेको थियो । सङ्घीय सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको छ । सङ्घीय सरकारले प्रतिविद्यार्थी खाजाका लागि दुर्गम बाहेकलाई दैनिक १५ रुपियाँ उपलब्ध गराउँदै आएको छ ।

दुर्गमका विद्यार्थीलाई दैनिक २० रुपियाँ उपलब्ध गराउने गरेको छ । कामपाले १५ रुपियाँ थपेर हरेक विद्यार्थीलाई दैनिक ३० रुपियाँ दिने निर्णयसमेत गरेको महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए । 

कामपाभित्र ८९ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । दिवा खाजा कार्यक्रमबाट प्रारम्भिक बालविकासदेखि कक्षा १० सम्मका गरेर करिब ४० हजार विद्यार्थी लाभान्वित हुने छन् । उनका अनुसार दिवा खाजाका लागि महानगरले २३ करोड रुपियाँ विनियोजन गरेको छ ।