एमालेको कार्यक्रममा पुष्पलाल, मदन र मनमोहनसँग केपी ओलीको फोटो राख्न निर्देशन

एमालेको कार्यक्रममा पुष्पलाल, मदन र मनमोहनसँग केपी ओलीको फोटो राख्न निर्देशन

काठमाडौं । नेकपा एमालेले पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीसँगै पार्टी अध्यक्ष केपी शर्मा ओलीबाहेक अन्य फोटो प्रयोग नगर्ने भएको छ ।

अध्यक्ष ओलीले पछिल्ला बैठकको निर्णय समेटेर जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)– ८ मा कार्यक्रमहरुमा अनावश्यक फोटो प्रयोग गरिएको भन्दै त्यस्तो निर्णय गरिएको जनाएका छन् ।

“सार्वजनिक कार्यक्रममा फोटो प्रयोग, आशनग्रहण र मञ्च व्यवस्थापनको विषयः सार्वजनिक कार्यक्रमहरूमा पार्टी र जनसंगठनका विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटोको प्रयोग भएको पाइएको छ,” अपानिमा भनिएको छ, “कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन अबदेखि पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा (तीन अग्रज नेताहरू– संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त पार्टी अध्यक्षबाहेक) अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको छ ।”

कार्यक्रमको मञ्च वक्ताले मात्र प्रयोग गर्ने गरी अतिथि र वक्ताहरूलाई दर्शकदीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउन निर्देशन दिइएको छ । कार्यक्रममा तथा कार्यक्रम सुरू भएपछि आशनग्रहणको उद्घोषण गरिरहेन परम्परा अन्त्य गर्ने निर्णय गरिएको अपानिमा उल्लेख छ ।

ओलीले कार्यक्रममा ब्याच, माला र खादाको अनावश्यक प्रयोग नगर्न र कार्यक्रमलाई भड्किलो नबनाउन समेत निर्देशित गरेका छन् ।