फेसबुक आईडी ह्याक गरेर लाखौँ ठगी, पाँचजना पक्राउ

फेसबुक आईडी ह्याक गरेर लाखौँ ठगी, पाँचजना पक्राउ

काठमाडौं । प्रहरीले फेसबुक आईडी ह्याक गरेर ठगी गरेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका सिमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ, रोहन तामाङ र पोखरा महानगरपालिकाकी शुभेक्षा गुरुङ रहेका छन् । 

उनीहरू सबैलाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो । नयाँ बसपार्कस्थित रेसुंगा बुटवल गेस्ट हाउसमा कोठाहरू भाडामा लिएर बस्ने गरेका उनीहरूलाई गेस्ट हाउसबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरूले विभिन्न व्यक्तिको फेसबुक आईडी ह्याक गरी पीडितका साथीहरूलाई म्यासेज पठाएर ईसेवा र खल्तीजस्ता वालेटहरूमा पैसा पठाउन लगाउँथे ।

प्रहरीको अनुसन्धानबाट उनीहरूले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आईडी ह्याक गरिएको पाइएको छ । त्यसका लागि १२ वटा जिमेल आईडी प्रयोग भएको पाइएको छ । उनीहरूले विभिन्न बहानामा ओटीपी कोड माग्थे ।

अहिलेसम्म उनीहरूले चौध लाख ५८ हजार रुपैयाँको कारोबार गरेको देखिएको छ । उनीहरूविरुद्ध ठगी तथा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम थप अनुसन्धान भइरहेको छ ।