काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिएका छन् । उनी २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार थिए । २०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका उनी पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनीत भएका थिए । त्यसपछि एमाले छाडेर प्रजा परिषद् ब्युँताउन लागेका उनी एमाले विभाजन भएर बनेको अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा क्रियाशील भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–६ बाट उम्मेदवारसमेत बनेका थिए ।
तत्पश्चात् एमाले फर्किएर काठमाडौं ६ बाटै प्रदेश सभा सदस्य निर्वाचित भएका उनी बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए। पछि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद भएपछि मन्त्री पदबाट हटाइएका थिए । स्थापितसहित सिरहाका प्रमोद यादवले पनि बिला लिएको एमालेका एक नेताले जानकारी दिए ।