स्कूल ड्रेसमा हराए पोखराका ३ जना बालिका

स्कूल ड्रेसमा हराए पोखराका ३ जना बालिका

पोखरा । पोखरामा एकैदिन तीनजना बालिका बेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिडेका पोखरा महानगरपालिका वडा नम्बर २ बिन्ध्यावासिनी बस्ने ३ जना बालिका हालसम्म पनि सम्पर्क नआएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिन्ध्यावासिनीका १४ वर्षीया मनिका परियार, १३ वर्षीया एलिसा परियार र १४ वर्षीया राधिका परियार एकैपटक सम्पर्क विहिन भएको भन्दै परिवारबाट उजुरी परेको छ ।

बेपत्ता भएकाहरु हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । ‘तीन बालिका बेपत्ता भएको भन्दै परिवारले उजुरी दिनुभएको छ । हामीले खोजी गरिरहेका छौं । हालसम्म पत्ता लागेको छैन’, उनले भने ।

आफन्तले भने दुई बालिकाले फोनमा कुरा भएपनि कहाँ कस्तो अवस्था रहेको जानकारी नभएको बताए । परिवारका अनुसार उनीहरु हराउँदा बखत तिनै जना सेतो सट, निलो स्कटको स्कुल ड्रेसमा थिए ।