कालीगण्डकी करिडोर १८ घण्टादेखि अवरुद्ध

कालीगण्डकी करिडोर १८ घण्टादेखि अवरुद्ध

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर १८ घण्टादेखि अवरुद्ध भएको छ । आयोजनाको बागलुङ खण्डमा पहिरोले सडक अवरुद्ध बनाएको हो । बागलुङ नगरपालिका–१० दब्ल्याङमा बिहीबार साँझ साढे ५ बजे माथिबाट झरेको पहिराले सडक अवरुद्ध भएको हो ।

अवरुद्ध बनेको सडक अहिलेसम्म खुलेको खुलाउन सकिएको छैन । सडक खुलाउन बागलुङ नगरपालिकाको जेसिबी प्रयोग गरिएको छ । लेदोसहितको पहिरोले सडकमा ठूलो क्षति पु¥याएको हुँदा केही सफाइ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । 

सडक अवरुद्ध हुँदा दक्षिण बागलुङ चल्ने यातायात ठप्प भएका छन् । दक्षिण बागलुङको कुश्मिसेरा, बलेवा, बरेङ लगायतका ठाउँबाट बागलुङ, पोखरा, काठमाडौँ जाने यातायात सडकमै अलपत्र परेका छन् । यस खण्डमा वर्षा हुँदासाथ पहिरो झरी रहँदा दक्षिण भेगमा हजारौँ यात्रु मर्कामा पर्दै आएका छन् । 

पहिरोको दीर्घकालीन समाधान खोज्नका लागि स्थानीयवासीले स्थानीय, प्रदेश र केन्द्र सरकारसँग माग गरी रहेका छन् । अप्ठ्यारो भूगोल हुँदा समस्या समाधानमा निकै कठिनाइ भएको छ ।