विपदबाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु

विपदबाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु

काठमाडौं । गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा बाढीपहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका छन् । ३१ जना बेपत्ता छन् ।

ती जिल्लामा विपद्मा परी ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव महादेव पन्थले जानकारी दिए ।

उनका अनुसार विपद्का घटना भएका ५० मध्ये २० जिल्लामा मानवीय क्षति भएको छ । ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका हुन् ।

यस्तै, बेपत्ता हुनेहरू ६ जिल्लाका छन् । संखुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरीका ३१ जना बेपत्ता भएका सहसचिव पन्थले जानकारी दिए । २८ जिल्लाका ५५ जना घाइते भएका छन् ।

विपद्मा परेर कुल १३० घर पूर्ण रूपमा क्षति भएको छ । १९३ घरमा आंशिक क्षति पुगेको छ ।

मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, संखुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको थियो ।