हामीलाई चुनाव जिताउनुभयो भने कोशीको नाम फेरिन्छ : प्रधानमन्त्री प्रचण्ड

हामीलाई चुनाव जिताउनुभयो भने कोशीको नाम फेरिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नाम किराँत प्रदेश राख्ने वचन दिएको बताएका छन्।  बुधबार नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयद्वारा काठमाडौंमा आयोजित २९औं विश्व आदिवासी दिवसको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेश नामकरण गर्नुअघि आफूले किराँत प्रदेश नाम राख्ने वचन दिएको बताएका हुन्। 

‘प्रदेशको नामकरण गर्दा पहिचान र प्रदेश झल्किने गरोस् भन्ने आवाजको गम्भीरतालाई मैले बुझेको छु। १ नम्बर प्रदेश कोशी नामकरण गरिनु अगाडि त्यो प्रदेशको नामकरण किराँत राखिनु उचित हुन्छ। र उक्त नाम राख्ने वचन पनि दिएको थिएँ। अहिले कोशी नामकरण भइसकेपछिको आन्दोलनका क्रममा मलाई भेट्नु भएको थियो,’ उनले भने। 

प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नाम परिवर्तन ०८४ सालको निर्वाचनमा पहिचान पक्षधरलाई भोट दिए नामकरण परिवर्तन सम्भव हुने बताए। 

‘कोशीका आन्दोलनकारीसँग वार्ता गरेर रचनात्मक निकास निकाल्ने प्रयास हुन्छ। अहिलेको आन्दोलनबाट पहिचान आयो भने त ठीकै छ तर ०८४ सालमा टन्नै मत हाल्दिनु भयो भने त्यहीँ पारित हुन्छ,’ उनले भने।