गोरखामा भेटियो बहुमूल्य चम्किलो ढुंगा, खानी विभागले परीक्षण गर्ने

गोरखामा भेटियो बहुमूल्य चम्किलो ढुंगा, खानी विभागले परीक्षण गर्ने

काठमाडौं । जिल्ला प्रहरी कार्यालय गोरखाले बरामद गरेको चम्किलो ढुंगा परीक्षणका लागि खानी तथा भूगर्भ विभागको विज्ञ टोली गोरखा आइपुगेको छ ।

जियोलोजिष्ट डा. सुस्मिता भण्डारी र दुर्गा बोलाखे परीक्षणका लागि सोमबार जिल्ला आइपुगेका हुन् । आज (मंगलबार)बाट परीक्षणको काम सुरु हुने सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले बताए । ‘ढुंगा बरामद गरेलगत्तै परीक्षणका लागि विज्ञ टोली पठाइदिन भनेर हामीले भूगर्भ विभागलाई आग्रह गर्दै  पत्राचार गरेका थियौं,’ उनले भने, ‘तर विभागमै ल्याएर परीक्षण गर्न भनेपछि समस्या भएको थियो ।’

विभाग लैजान समस्या हुने भन्दै प्रशासनले पुनः पत्राचार गर्दै विज्ञ टोली पठाएर जिल्लामै परीक्षण गरिदिन आग्रह गरेपछि विभागले आवश्यक उपकरणसहित विज्ञ टोली पठाएको हो । गोरखा नगरपालिका–७ सतिपिपलस्थित एक व्यक्तिको घरबाट प्रहरीले उक्त ढुंगा बरामद गरेको थियो । ५४ किलो वजनको उक्त ढुंगा विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उक्त ढुंगा बहुमूल्य रहेको भनिए पनि परीक्षण नगरी एकीन नहुने जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए । ‘हामीले केही भूगर्भविदलाई भिडियो कल गरेर देखाउँदा यो ‘क्वार्ज क्रिष्टल’ ढुंगा हो तर कुन गुणस्तरको भन्ने कुरा परीक्षण गरेपछि मात्र थाहा हुने भन्नुभएको थियो,’ उनले भने ।

यसअघि परीक्षणका लागि उक्त ढुंगा बाहिर लैजाने चर्चा चलेको थियो । तर स्थानीयको विरोधपछि विज्ञ टोलीलाई जिल्लामै बोलाएर परीक्षण गर्न लागिएको हो ।