जुम्ला । भारतको केदारनाथ गौरीकुण्डमा गएको पहिरोमा परी दर्जन नेपाली बेपत्ता भएका छन् । पहिरोले उनीहरू बसेको होटल नै बगाउँदा बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरूमा जुम्ला पातारासी गाउँपालिकाका धेरै छन् । गौरीकुण्डमा रहेका तीनवटा होटल पहिरोले बगाएको थियो ।
'केदारनाथमा रहेका आफन्तसँग बुझ्दा हालसम्म ११ जना बेपत्ता रहेको प्रारम्भिक जानकारी प्राप्त भयो,' पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले भने, ‘विस्तृत जानकारीको लागि सम्पर्क भइरहेको छ । नाम ठेगाना यकिन भइसकेको छैन । सबै विवरण प्राप्त भए पनि बेपत्ता हुनेहरुको नाम सार्वजनिक गर्ने तयारी गाउँपालिकाले गरिरहेको छ ।’ उनीहरू व्यापारका सिलसिलामा केदारनाथ पुगेका थिए ।
अहिलेसम्म पातरासी-२ र ३ का गरी ११ जनाको पहिचान भएको उपाध्यक्ष जुनमाया रोकायाले बताइन् । बेपत्ताको पहिचान खुलेको छैन । पहिरोले होटल बगाएको भारतीय मिडिया हिलवाणीले जनाएको छ । बेपत्ता हुने थप सात जना पनि नेपाली रहेको खबरमा उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पातारासीका अध्यक्ष, उपाध्यक्षबाटै आफूलाई जानकारी प्राप्त भएकोले घटनाबारे गृह मन्त्रालयमा समेत जानकारी पठाइसकेको बताए ।