एमाले महासचिवको प्रश्न : रविले कस्तो समाजको परिकल्पना गरे ?

एमाले महासचिवको प्रश्न : रविले कस्तो समाजको परिकल्पना गरे ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी  एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोटको लागि सस्तो राजनीति गरेको आरोप लगाएका छन् । चितवनमा महिलाका लागि मात्र निःशुल्क बस सञ्चालन गरेको विषय उठाउँदै सामाजिक सञ्जालमार्फत पोखरेलले लामिछानेको आलोचना गरेका हुन् । 

यो प्रकरणले आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान् ? भन्ने जिज्ञासा उठेको पोखरेलले बताएका छन् । 

हेर्नुहोस् पोखरेलको स्ट्याटस जस्ताको त्यस्तै :

सार्वजनिक यातायात महिलाका लागि मात्र भनेर चितवनबाट दिन खोजिएको सन्देश

दुनियाँका धेरै मुलुकहरूमा महिलाहरू बन्द समाजमा जकडिएको  बेलामा नेपाली समाजमा अपवाद बाहेक महिलाहरू सुरु देखिनै तुलनात्मक हिसाबले स्वतन्त्र थिए । उत्पादनको काममा परिवारका सदस्यहरूसँग मिलेर एकसाथ काम गर्दथे । जबकि अहिले युवाहरूको ठुलो सङ्ख्या रोजगारीका सिलसिलामा बिदेसिएका वेला ठुलोसंख्यमा महिलाहरू परिवारको मुलीको रूपमा भूमिका निर्वाह गरिरहेका छन् ।

यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान् ? जिज्ञासा उठ्नु स्वभाविक हो ।

नेपाली समाजमा यतिवेला रूपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता छ । चितवन महिला जागरण र जागृतिको थलो हो । 

पंचायतकालमा म विद्यार्थी राजनीतिका सिलसिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरूले ठुलो सङ्ख्यामा साइकिल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाको बीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो बनाउने मौका पाएको थिए ।

तर आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौ भन्ने प्रश्न जागृत भएको छ ।

नयाँ र वैकल्पिक शक्ति बनाउँछौ भन्नेहरूले गर्न खोजेको काममा रूपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामबाट भविष्यको सुन्दर दृश्य देखिनु पर्दछ ।

तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति  गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौ । 

चितवन जस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने  र सन्देश दिने प्रयास गरौँ ।