काठमाडौं । कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मनाएर सरकार बनाउने सत्तारुढ गठबन्धनको प्रयास असफल भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सत्ता सहकार्यको प्रस्ताव अस्वीकार गरेपछि सत्ता गठबन्धनको पहिलो विकल्प नै असफल भएको हो । सर्वोच्च अदालतको आदेशअनुसार प्रदेश प्रमुख परशुराम खापुङले १६ गतेभित्र दाबी पेश गर्न आह्वान गरेलगतै राप्रपा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लविङ गरिरहेका छन् । तर देउवा र प्रचण्डलाई लिङदेनले अहिले सरकार बनाउन साथ दिन नसकिने जवाफ फर्काएका छन् । उच्च स्रोतका अनुसार, प्रधानमन्त्री प्रचण्डले संघ र सबै प्रदेश सरकारमा सहकार्यको प्रस्ताव लिङदेनसँग गरेका थिए । तर लिङ्देनले सत्ता अहिले प्राथमिकतामा नरहेको जवाफ फर्काए । १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन साथ दिएका लिङदेनले अहिलेकै अवस्थामा सरकारमा नआउने अडान राखेको ती स्रोत बताउँछन् ।
लिङदेनको सकारात्मक जवाफ नपाएका प्रधानमन्त्री प्रचण्डले आइतबार साँझ कोशीका नेताहरुसँग कुराकानी गरेका छन् । ‘राप्रपाले सत्ता बनाउन साथ नदिने भयो, अर्कै विकल्पमा जानुपर्ने भयो’, प्रचण्डको बिफ्रिङ थियो । त्यो छलफलमा सहभागी एक नेताका अनुसार, सर्वोच्चले संयुक्त सरकार बनाउन दिएको समयभित्र राप्रपा मनाउन नसकिने निष्कर्ष समेत प्रचण्डले सुनाए ।
कोशीमा सरकार बनाउन राप्रपाको साथ लिने सत्तारुढ नेतृत्वको पहिलो विकल्पमा थियो । यदि ६ सिटको राप्रपाले साथ दिँदा कोशी प्रदेशसभामा कांग्रेस नेतृत्वको सत्तारुढ दलहरुसँग सभामुख बाहेक पनि ५२ प्रदेशसभा सदस्य हुन्थ्यो । सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर बुझाएर मुख्यमन्त्री नियुक्त कांग्रेस नेता उद्धव थापालाई सर्वोच्चले पदमुक्त गरेकाले राप्रपाको साथ संयुक्त सरकारका निम्ति अनिवार्य जस्तै छ ।
प्रचण्ड–देउवाले पनि राप्रपासँग कोशीमा आलोपालो मुख्यमन्त्रीसहित सत्ता सहकार्यलाई प्राथमिकतामा राखेका थिए । ‘समय सकिन लाग्यो, राप्रपा मानेन । अब अर्को विकल्पतिर जानुपर्छ होला’, कोशीका सत्तारुढ एक नेता भन्छन् । उनका अनुसार, आइतबारको छलफलमा प्रधानमन्त्री प्रचण्डले पनि अर्को विकल्पमा जानुपर्ने अवस्था आएको बताएका थिए । त्यो भनेको सभामुखबाट गौतमलाई राजीनामा गराउने हो । गौतमले राजीनामा दिए यो गठबन्धनसँग ४७ प्रदेशसभा सदस्य हुन्छ । कांग्रेससँग २९, माओवादीसँग गौतमले सभामुखबाट राजीनामा दिदा १३, एकीकृत समाजवादीसँग ४ र जनता समाजवादी पार्टीसँग १ सदस्य छन् । मुख्यमन्त्री दाबी गर्न यो आवश्यक संख्या हो । ‘तत्काललाई नेतृत्व जोगाउने विकल्प यही नै हो’, ती नेता भन्छन् ।
तर आइतबार प्रचण्ड समेतको छलफलमा गौतमले सभामुखबाट राजीनामा दिन आनाकानी गरेका छन् । मुख्यमन्त्रीको टुंगो नलागी पदबाट राजीनामा नगर्न कोशीकै माओवादी नेताहरुले गौतमलाई साथ दिएका छन् । स्रोतका अनुसार, माओवादी केन्द्र आफैले मुख्यमन्त्रीमा दाबी गरेका छन् । माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले सार्वजनिक रुपमै मुख्यमन्त्रीमा दाबी रहने बताइसकेका छन् । यसअघि एमाले नेता हिक्मत कार्कीको सरकारबाट बाहिरिँदा पनि आङ्बोले मुख्यमन्त्री लिने सहमति गरेका थिए ।